काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सिमेन्ट, सुर्तीजन्य पदार्थ र श्रृङ्गार सामग्रीमा कर वृद्धि गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै कर नीतिमा कडाइ गरिएको घोषणा गरेका हुन्। बजेटमा निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीदेखि जनस्वास्थ्यमा असर पार्ने सुर्तीजन्य वस्तु र विलासी श्रृङ्गार सामग्रीसम्ममा कर बढाइएको छ, जसको प्रभाव निर्माण लागत, उपभोग्य वस्तुका मूल्य र उपभोक्ता व्यवहारमा पर्नेछ।
निर्माण क्षेत्रसँग सम्बन्धित सिमेन्ट उद्योगमा प्रयोग हुने काठको धुलो, बाइण्डिङ केमिकल्स तथा सिमेन्ट मिसाउने अन्य सामग्रीमा लाग्ने भन्सार महसुल ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ। त्यस्तै, अनफायर्ड मोडिफाइड क्ले मेटेरियलमा झनै कठोर नीति अपनाउँदै ५ प्रतिशतबाट १५ प्रतिशत महसुल कायम गरिएको छ। यी कर वृद्धिका कारण निर्माण सामग्री महँगिने र त्यसको असर पूर्वाधार विकास तथा निजी घर निर्माणमा पर्ने देखिन्छ।
स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै सरकारले सुर्तीजन्य वस्तुमा पनि उल्लेखनीय कर वृद्धि गरेको छ। अबदेखि फिल्टर नभएको सुर्तीको प्रति एम मूल्य ७५५ रुपैयाँबाट बढेर ७७८ रुपैयाँ पुगेको छ। त्यस्तै, ७० मिमिसम्म लम्बाइ भएको सुर्तीमा प्रति एम ५२ रुपैयाँ थपिई १,७९२ रुपैयाँ बनाइएको छ। ७०–७५ मिमिको सुर्तीमा ७१ रुपैयाँ वृद्धि भई २,४४१ रुपैयाँ कायम भएको छ भने ७५–८५ मिमिको सुर्तीमा १५३ रुपैयाँ बढेर ३,२१३ रुपैयाँ पुर्याइएको छ। ८५ मिमिभन्दा लामो सुर्तीमा २१० रुपैयाँ वृद्धि भई प्रति एम ४,४१० रुपैयाँ कायम गरिएको छ।
यस्तै, विलासी तथा विदेशी सौन्दर्य सामग्रीको आयात न्यूनीकरण गर्ने उद्देश्यले ट्वाइलेट श्रृङ्गार सामग्रीमा लाग्ने भन्सार महसुल पनि ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याइएको छ। सरकारले सार्वजनिक स्वास्थ्य सुधार र घरेलु उत्पादनमा प्रोत्साहन दिने उद्देश्यले यी कर वृद्धिको नीति लिएको भए पनि यसले दैनिक जीवनमा उपभोग गरिने वस्तुहरू महँगिने संकेत दिएको छ।
Comment