काठमाडौं । सरकारले आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकमार्फत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संशोधित कर दरहरू पारित गरेको छ। नयाँ कर दरहरू आजै मध्यरातिदेखि लागू हुने भएका छन्।
अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले “सामयिक कर असुली ऐन, २०१२” को प्रावधानअनुसार सूचित आदेशमार्फत करका दर हेरफेर गरेको हो। यो आदेश लागू भएपछि अब भन्सार महसुल, अन्तःशुल्क लगायतका विभिन्न करहरू नयाँ दरअनुसार संकलन गरिनेछ।
सरकारले सूचित आदेशमार्फत संशोधन गरिएका कर दरहरू ६ महिनासम्म लागू रहनेछन्। त्यस अवधिमा यदि संसदबाट आर्थिक विधेयक पारित भइ कानुनको रूप नलिएसम्म सूचित आदेशका आधारमा कर असुली गरिने छ। आर्थिक विधेयक पारित भएपछि भने त्यही अनुसारको कर प्रणाली लागु हुनेछ।
कर दर हेरफेर गर्ने अधिकार ऐनको दफा ३ अनुसार मन्त्रिपरिषदलाई प्राप्त छ। सोही व्यवस्थाअनुसार आजको बैठकले आर्थिक विधेयक पेस भएको दिन मध्यरातिबाट लागू हुने गरी कर दर संशोधनको निर्णय गरेको हो।
बिहीबारै मन्त्रिपरिषदले आगामी वर्षको वार्षिक बजेट पनि अनुमोदन गरिसकेको छ, जसलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।
सरकारले कर प्रणालीलाई पारदर्शी, व्यावहारिक र राजस्वमैत्री बनाउने उद्देश्यले दर हेरफेर गरेको जनाएको छ। नयाँ कर संरचनाले अर्थतन्त्रमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।
Comment