काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस भइरहेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै बजेट भाषण गरिरहेका छन्।
नेपालको संविधान २०७२ को धारा ११९ अनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार यो प्रक्रिया अगाडि बढाइएको हो। बजेटमार्फत राजस्व संकलनको अनुमान, संघीय सञ्चित कोषमाथि पर्ने व्ययभार तथा विनियोजन ऐनबमोजिम खर्च हुने रकमको विवरण प्रस्तुत गरिँदैछ।
बजेट पेस गर्दा अघिल्लो आर्थिक वर्षमा मन्त्रालयहरूलाई विनियोजित रकमको खर्च विवरण र त्यसअनुसार प्राप्त उपलब्धि समेत समेटिएको छ। संविधानको व्यवस्थाअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट पेस गर्नुपर्ने प्रावधान छ।
अर्थमन्त्री पौडेलको बजेट भाषणले आगामी वर्षको नीति, कार्यक्रम, खर्च प्राथमिकता र आम्दानीको स्रोतलाई स्पष्ट पारेको छ। बजेट पेस भइरहँदा संसद भवनमा विशेष चहलपहल देखिएको छ भने सम्पूर्ण देशको ध्यान बजेट घोषणातर्फ केन्द्रित भएको छ।
Comment