काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपालका सार्वजनिक संस्थानहरूको समग्र नाफा रु.४२ अर्ब ६२ करोड पुगेको छ। बुधबार सार्वजनिक आर्थिक सर्वेक्षणमार्फत अर्थमन्त्री विष्णु पौडेलले दिएको जानकारी अनुसार नाफामा रहेका संस्थानहरूको संख्या २८ छ भने १५ संस्थान घाटामा रहेका छन्।
गत वर्षको तुलनामा संस्थानहरूको कुल नाफा १२.८८ प्रतिशतले घटेको हो। यस्तै, नाफामा रहेका संस्थानहरूको खुद नाफा ११.५० प्रतिशतले घट्दा, नोक्सानीमा रहेका संस्थानहरूको घाटा ८.६५ प्रतिशतले बढेर रु.३ अर्ब ६३ करोड पुगेको छ।
हाल नेपालमा ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन्। तीमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वमा छन् भने बाँकी २५ वटामा सरकारको बहुमत स्वामित्व रहेको छ। यी संस्थानहरू औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी तथा वित्तीय क्षेत्रहरूमा क्रियाशील छन्।
समीक्षा अवधिमा सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति २.२० प्रतिशतले बढेर रु.२९ खर्ब १० अर्ब १७ करोड पुगेको छ। यस्तै, सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ, जसमा सेयर लगानी रु.३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु.३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ।
आर्थिक वर्ष २०८०/८१ मा संस्थानहरूको कुल सञ्चालन आय रु.६ खर्ब ६० अर्ब १५ करोड रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।
नेपाल सरकारले सार्वजनिक संस्थानहरूबाट लाभांश स्वरूप अघिल्लो वर्ष रु.१३ अर्ब ७५ करोड प्राप्त गरेकोमा यो वर्ष त्यो घटेर रु.८ अर्ब ८३ करोडमा झरेको छ। सेयर लगानीको तुलनामा लाभांश अनुपात २.४ प्रतिशत मात्र रहेकोले सरकारी लगानीको प्रतिफल कमजोर देखिएको विश्लेषकहरू बताउँछन्।
अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थानहरूको सुधार र दक्ष व्यवस्थापनमार्फत वित्तीय पारदर्शिता र कार्यक्षमता अभिवृद्धि गर्ने आवश्यकतामा जोड दिएका छन्।
Comment