काठमाडौं महानगरले लगायो सुक्खा फोहोर बिक्री गर्न ठेक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न करसहित वार्षिक ६ करोड आठ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । महानगरपालिकालाई सात क्षेत्रमा विभाजन गरी हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाइएको हो ।

यी स्थानमध्ये क्षेत्र नम्बर ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इन्जिनियर रामप्रसाद नेपालले जानकारी दिए । अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ ।

क्षेत्र नम्बर ७ बाट ०८२ वैशाख महिनाभरिमा एक लाख एक हजार ३५५ किलोग्राम सुक्खा फोहोर संकलन भयो । यस क्षेत्रमा वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् ।

सुक्खा फोहोर ‘मटेरियल रिकभरी फ्यासिलिटी’मार्फत जम्मा गरिन्छ । वैशाख महिनाको विवरण हेर्दा सबैभन्दा धेरै संकलन भएको दिन तीन हजार ८२७ किलोग्राम र सबैभन्दा कम भएको दिन दुई हजार ५३४ किलोग्राम फोहोर जम्मा भएको देखिन्छ ।

यस क्षेत्रबाट दैनिक साढे ४३ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको छ ।

चैत महिनामा ११ गतेदेखि फोहोर संकलन थालिएको थियो । त्यस दिन एक हजार ३७७ किलाग्राम फोहोर संकलन गरिएको थियो । त्यस महिना सबैभन्दा बढी चार हजार ५ सय किलोग्राम संकलन भएको थियो ।

यस महिनामा ६० हजार ६६० किलोग्राम फोहोर जम्मा भयो । यो क्षेत्रका लागि ग्लोरियस मल्टीपर्पोज एन्ड सप्लाइजले ६२ लाख रुपैयाँमा वार्षिक कबोल गरेको छ ।

३२ वटा वडाका ७ क्षेत्रमध्ये हरेक क्षेत्रमा एक–एकवटा फोहोरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्न महानगरपालिकाले आय ठेक्का कार्यविधि २०७९ बमोजिम सार्वजनिक सूचनाबाट आह्वान गरेको थियो ।

यसबाट पहिलो क्षेत्रमा नेप्सेम्याक सेवा प्रालि छनोट भएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रूपमा ६६ लाख ४२ हजार एक सय रुपैयाँ कबोल गरेको छ । यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन फोहोर संकलन हुने अनुमान गरिएको छ ।

क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपैयाँमा ठेक्का कबोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको छ ।

क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपैयाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहोर जम्मा हुने अनुमान छ ।

क्षेत्र नम्बर ४ मा मेची पोली इन्डस्ट्रिजले एक करोड १५ लाख चार हजार ४०४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहोर जम्मा हुने अनुमान छ ।

वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कबोल गरेको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ ।

करिब ५४ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली बेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ । इन्जिनियर नेपालका अनुसार यसरी कबोल गरिएको रकम करबाहेकको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।