काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपाल सरकारले १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ सार्वजनिक ऋण थप गरेको छ। यससँगै कूल सार्वजनिक ऋणको दायित्व २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको वैशाख मसान्तसम्मको प्रतिवेदन अनुसार, गत चैत मसान्तसम्म कुल ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ थियो, जसमा यस महिनामा ऋण भुक्तानीको परिमाण ऋण प्राप्तिभन्दा बढी रहेकाले कूल दायित्वमा केही घटावट आएको छ।
कूल सार्वजनिक ऋणमध्ये ५१.६९ प्रतिशत वैदेशिक र ४८.३१ प्रतिशत आन्तरिक ऋण रहेको छ। बाह्य ऋणको परिमाण १३ खर्ब ५५ अर्ब ६९ करोड र आन्तरिक ऋणको परिमाण १२ खर्ब ६६ अर्ब ७० करोड पुगेको छ।
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण उठाएको छ। लक्ष्यको ७१.४५ प्रतिशत ऋण प्राप्त भइसकेको छ, जसमा आन्तरिक ऋणको प्रगति दर ९१.२५ प्रतिशत र बाह्य ऋणको प्रगति दर ४१.३३ प्रतिशत रहेको छ।
हालसम्म प्राप्त कुल ऋणमध्ये ७७.०५ प्रतिशत आन्तरिक र २२.९५ प्रतिशत बाह्य स्रोतबाट जुटाइएको हो।
सरकारले चालु वर्षमा ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा ३ खर्ब १ अर्ब १४ करोड रुपैयाँ उठाइसकेको छ, भने २८ अर्ब ८५ करोड रुपैयाँ उठाउन बाँकी छ। त्यस्तै, २ खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्यमध्ये ८९ अर्ब ६८ करोड रुपैयाँ मात्र प्राप्त भएको छ।
यस आर्थिक वर्षमा सरकारको ऋण साँवा–ब्याज भुक्तानीका लागि छुट्याइएको ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेटमध्ये वैशाख मसान्तसम्म ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गरिएको छ, जुन वार्षिक बजेटको ७६.४९ प्रतिशत हो। कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुसार ऋण सेवा खर्च ५.०५ प्रतिशत पुगेको छ।
Comment