काठमाडौं । ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ ।
सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ । सातदोबाटोतर्फको र्याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।
सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् ।
Comment