सान्भि इनर्जीको आईपीओ आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक चरणको आईपीओ निष्काशन भइसकेको थियो।

कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको छ, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर रहेको छ।

यसअघि, सान्भि इनर्जीले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ८० हजार कित्ता शेयर तथा विदेशमा रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरेको थियो। साथै, १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष तथा ५८ हजार २०० कित्ता कर्मचारीहरूका लागि आरक्षित गरिएको छ।

सर्वसाधारण लगानीकर्ताले कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद जेठ १३ गतेसम्म हुनेछ। यदि सो अवधिमा सम्पूर्ण शेयर बिक्री नभएमा निष्काशन अवधि जेठ २३ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

आईपीओमा आवेदन दिन लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरू वा ‘मेरो शेयर’ अनलाइन सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सक्नेछन्।

शेयर निष्काशनको लागि कम्पनीले पाएको रेटिङमा केयर रेटिङ्स नेपालले “CARE NP BB+ (Issuer Rating)” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

सान्भि इनर्जीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।