कुलमान घिसिङ भन्छन् – राजनीतिमा लाग्नेबारे सोचिरहेको छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा लाग्नेबारे गम्भीरतापूर्वक सोचिरहेको बताएका छन्। उनलाई राजनीतिमा सक्रिय हुन विभिन्न व्यक्तिहरूबाट निरन्तर सुझाव आइरहेको बताउँदै उनले अब त्यसतर्फ विचार गरिरहेको स्पष्ट पारेका हुन्।

पहिचानवादी मोर्चाका नेता डकेन्द्रसिं थेगिमसँगको भेटमा घिसिङले “धेरैले राजनीतिमा लाग्न सुझाव दिनुभएको छ, त्यसबारे सोच्दैछु” भनेर बताएका थिए। भेटपछिको प्रतिक्रिया दिँदै नेता थेगिमले घिसिङ सम्भवत: अब राजनीतिमा सक्रिय हुने संकेत देखिएको बताएका छन्।

“मैले बुझ्दाखेरि उहाँ अब सम्भवत: राजनीतितिरै लाग्नुहुन्छ कि जस्तो लाग्छ,” थेगिमले नागरिकसँग भने, “तर, उहाँले ‘मै यही पार्टीबाट लाग्छु’ भनेर चाहिँ खुलस्त भन्नुभएको छैन। उहाँले अहिले विचार गरिरहेको बताउनुभयो।”

यता, घिसिङले आफू पुराना दलहरूभन्दा टाढा रहेको उल्लेख गरेका छन्। धेरैले आफूलाई माओवादी केन्द्र निकटको भन्नेजस्तो गरिएको भए पनि त्यो सत्य नभएको उनको भनाइ छ।

थेगिमका अनुसार घिसिङले यदि राजनीतिमा जानुपर्ने अवस्था आए पनि स्वतन्त्र रूपमा जानु उपयुक्त हुने धारणा राखेका छन्। यसले कुलमान घिसिङको भावी योजनाबारे नयाँ अड्कल र चासो सिर्जना गरेको छ। देशभर लोकप्रियता कमाएका घिसिङले राजनीति प्रवेश गरेमा त्यसले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।