काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको तयारी तीव्र बनाएको छ। विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूलाई समेट्दै मुलुकको आवश्यकता, जनअपेक्षा र स्रोतको उपलब्धतालाई ध्यानमा राखेर बजेट निर्माणको काम अघि बढाइएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
बजेट तयारीको नेतृत्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिरहेका छन्। उनले संसदका प्रमुख दलहरूसँग, विशेषतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल गरिसकेका छन्।
अर्थ मन्त्रालयले यसपटकको बजेट निर्माण प्रक्रिया विशेष परामर्शमूलक बनाएको छ। यसअन्तर्गत मन्त्रालयका पदाधिकारीहरूले मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, पूर्व अर्थमन्त्री, पूर्व अर्थसचिव, अर्थशास्त्री, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, नागरिक समाजका प्रतिनिधि र विकास साझेदारहरूसँग व्यापक छलफल गरेका छन्।
साथै बजेटबारे सर्वसाधारण नागरिकबाट सुझाव संकलन गर्नका लागि सार्वजनिकरूपमा आह्वानसमेत गरिएको थियो। विभिन्न संघसंस्था, जनप्रतिनिधि र विज्ञहरूले पनि मन्त्रालयलाई औपचारिक सुझाव पठाएका छन्।
सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भइसकेको छ भने बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल सम्पन्न भएको छ। यसपटकको बजेटमा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको विकास, भौतिक पूर्वाधारको निर्माण र सामाजिक सुरक्षा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
सरकारले जेठ १४ गते आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य संसदमा पेश गर्ने तयारी गरिरहेको छ। आर्थिक पुनरुत्थान र समावेशी विकासका उद्देश्यसहितको बजेटले समग्र अर्थतन्त्रमा विश्वास पुनःस्थापना गर्ने अपेक्षा गरिएको छ।
Comment