राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिजिटल बैंकिङको प्रवर्द्धन र ग्राहक सुविधामा नयाँ युगको शुरुवात गर्दै राष्ट्रिय वाणिज्य बैंकले ‘क्रस–बैंक टेलर क्युआर ट्रान्जेक्सन सेवा’ सुरु गरेको छ। फोनपे नेटवर्कसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालमा पहिलो पटक सार्वजनिक गरिएको हो, जसले ग्राहकलाई कुनै पनि फोने पे सञ्जालमा आबद्ध बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी आरबीबीका शाखाबाट नगद झिक्न सक्ने सुविधा दिन्छ।

‘क्युआर स्क्यान, क्यास विद्ड्रन — सिम्पल, स्मार्ट, सिमलेस’ भन्ने नारासहित ल्याइएको यस सेवाले नगद झिक्नका लागि अब चेक वा एटिएम कार्ड प्रयोग गर्नुपर्ने झन्झट हटाएको छ। ग्राहकले आरबीबी शाखामा पुगेर टेलर काउन्टरमा राखिएको क्युआर कोड स्क्यान गरेपछि, आफ्नो मोबाइल बैंकिङ एपमार्फत आवश्यक रकम प्रविष्ट गरी कारोबार स्वीकृत गर्न सक्छन्। त्यसपछि ग्राहकले तत्काल नगद प्राप्त गर्न सक्नेछन्।

यो सेवा विशेष गरी ती क्षेत्रहरूमा उपयोगी मानिएको छ, जहाँ एटिएमको पहुँच सीमित छ वा ग्राहक आफ्नै बैंक शाखामा पुग्न सक्दैनन्। सेवा प्रयोगका लागि ग्राहकले जुनसुकै फोने पे सञ्जालमा आबद्ध बैंकको मोबाइल एप प्रयोग गर्न सक्नेछन्। यस सेवाले नगद झिक्ने प्रक्रिया डिजिटल, सहज, छिटो र कागज रहित बनाएको छ।

आरबीबीको यस पहललाई नेपालमा बैंकिङ सेवा अन्तरसंयोजन (interoperability) को दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले बैंकिङ क्षेत्रलाई डिजिटल समावेशीकरणको दिशामा थप अगाडि बढाएको छ। आरबीबीले आगामी दिनहरूमा अझ बढी प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।