काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालले झण्डै १९ अर्ब रुपैयाँ बराबरको धान आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा ४९ करोड ५१ लाख किलोभन्दा बढी धान विदेशबाट भित्रिएको छ, जसका लागि १८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी खर्चिएको हो।
नेपालको कुल वैदेशिक व्यापारमा यस अवधिमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार ७२.७१ प्रतिशतले वृद्धि भएको देखिन्छ। यो अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ भने निर्यात २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। तर, आयात उच्च रहेकोले नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब रुपैयाँ नाघेको छ।
गत आर्थिक वर्षको तुलनामा आयात तथा निर्यात दुवै बढेका छन्। तर आयातको दर निर्यातको तुलनामा धेरै रहेकोले घाटा झन् बढेको देखिन्छ। गत वर्षको तुलनामा आयात १ खर्ब ७० अर्ब रुपैयाँले, निर्यात ९१ अर्ब रुपैयाँले बढेको छ। त्यसैले, चालु वर्षको १० महिनामा व्यापार घाटा ७९ अर्ब रुपैयाँले थप वृद्धि भएको हो।
नेपालले निर्यातमा सबैभन्दा बढी योगदान सोयाबिनको तेल बाट गरेको छ। ३७ करोड ४० लाख किलो सोयाबिनको तेल निर्यात गर्दै ७८ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरिएको छ। त्यसपछि सूर्यमुखी र कुसुमको तेल निर्यात दोस्रो स्थानमा रहेको छ, जसको मूल्य १० अर्ब ९ करोड रुपैयाँ पुगेको छ।
यसका साथै, कार्पेट, कपडा, अलैंची, फलामजन्य वस्तु, जुटका कपडा, रसको मिश्रण, फाइबर धागो, पोलिस्टर धागो लगायतका वस्तुहरू निर्यात भएका छन्। अलैंची मात्र ६ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको निर्यात गरिएको छ।
यता आयाततर्फ, नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। ११ लाख ४७ हजार किलोलिटर डिजेलका लागि १ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिएको छ। त्यसपछि कच्चा सोयाबिन तेल (८१ अर्ब), पेट्रोल (५३ अर्ब), एलपी ग्याँस (५१ अर्ब), र फलामजन्य वस्तुहरू (४१ अर्ब) का लागि ठूलो रकम विदेश गएको छ।
मोबाइल फोन पनि ठूलो मात्रामा आयात गरिएको वस्तुहरूमध्ये पर्दछ। चालु आर्थिक वर्षमा १७ लाख ८५ हजार स्मार्टफोनको आयात गरिँदा देशबाट २८ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ।
नेपालले २५ अर्ब रुपैयाँभन्दा बढीको औषधि, २४ अर्बभन्दा बढीको सुर्यमुखी तेल, र २८ अर्बको फलाम र स्टील समेत आयात गरेको तथ्यांकले देखाउँछ।
Comment