नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ नामक ऋणपत्र जेठ १८ गतेदेखि निष्काशन गर्ने भएको छ।

वार्षिक ६ प्रतिशत ब्याजदरमा सात वर्ष अवधिको यो ऋणपत्र बैंकले कुल ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता निष्काशन गर्न लागेको हो। जसमध्ये ६० प्रतिशत अर्थात ३० लाख कित्ता (३ अर्ब रुपैयाँ बराबर) संस्थागत तथा व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्ता (२ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिनेछ।

सर्वसाधारणका लागि खुला गरिएको ऋणपत्रमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १९ लाख कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। ऋणपत्रको आवेदन अवधि प्रारम्भिक रूपमा जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म रहनेछ भने सो अवधिमा पूरै बिक्री नभएमा अवधि असार १ गतेसम्म लम्बिन सक्नेछ।

यस ऋणपत्रमा लगानीकर्ताले प्राप्त गर्ने ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ। आवेदन दिने प्रक्रिया ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूमार्फत गर्न सकिनेछ। ऋणपत्र निष्काशनका लागि इक्रा नेपालले निफ्रालाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ को रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्छ। यस ऋणपत्रको निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआइएमबि एस क्यापिटल लिमिटेडले लिएको छ। हरित उर्जा परियोजनामा लगानी प्रवाह गर्ने उद्देश्यसहित ल्याइएको यो ऋणपत्र दीर्घकालीन, स्थिर र सुरक्षित लगानीको अवसरका रूपमा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।