काठमाडौँ । नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका लागि विशेष बजेट व्यवस्था गर्न अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको छ। कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा आयोजना गरेको बजेट तथा नीति संवाद कार्यक्रममार्फत सुझावसहितको प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइएको हो।
कांग्रेस केन्द्रीय सदस्य एवम् विभाग प्रमुख अजय बाबु शिवाकोटीले स्टार्टअप नीति पूर्ण रूपमा कार्यान्वयन गर्न, नवउद्यमीहरूलाई सस्तो ब्याजमा कर्जा, कर छुट जस्ता सहुलियत दिन आग्रह गरे। साथै, उनले कर प्रणाली सुधार, दोहोरो कर हटाउँदै एकद्वार प्रणाली लागू गर्नुपर्ने, कर कार्यालयमा जवाफदेहिता बढाउनु पर्ने र डिजिटल कर प्रणाली विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए।
प्रतिवेदनमा शिक्षा सुधार, कृषि क्षेत्रमा लगानी, कर सुधार र उद्यमशीलता प्रवर्द्धनका रणनीतिक सुझावहरू समावेश गरिएको छ। सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले आगामी बजेटमा उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यम सशक्तीकरणका विषय समावेश हुने स्पष्ट पारे। उनले यी क्षेत्रका लागि अनुकूल वातावरण निर्माण गरेर कार्यान्वयनलाई बलियो बनाइने प्रतिवद्धता जनाए।
कार्यक्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलतासम्बन्धी विषयमा सरोकारवालाबीच प्रभावकारी छलफल गरी साझा धारणा निर्माण गर्नुपर्ने बताए। यस्तै महासचिव मोहन गजुरेलले सरकारलाई उद्यमशीलता प्रवर्द्धनका मुद्दा कार्यान्वयनमा निरन्तर दबाब दिने रणनीति अपनाइने बताए।
कांग्रेसको पहललाई देशको नवप्रवर्तन र रोजगारीमूलक विकासतर्फको ध्यान केन्द्रित प्रयासको रूपमा हेरिएको छ। अब हेर्न बाँकी छ, सरकार आगामी बजेटमा कति दूरगामी र उद्यममैत्री नीति ल्याउनेछ।
Comment