काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हाल देखिएको विद्युत् आपूर्तिको अवरोध प्राविधिक कारणले भएको स्पष्ट पारेका छन्। शुक्रबार स्युचाटारस्थित प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाक्यले हालैको हावाहुरीका कारण प्रशारण लाइनमा समस्या देखिएको जानकारी दिए।
उनका अनुसार बिहीबार बेलुकी आएको तीव्र हावाहुरीले ढल्केवर–मुजफ्फरपुर ४०० केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुर्याउँदा काठमाडौं उपत्यकासहित केही स्थानमा विद्युत् आपूर्तिमा बाधा आएको हो। भारतबाट सो लाइनमार्फत भइरहेको विद्युत् आयात रोकिएपछि आपूर्ति प्रभावित भएको र यसले सर्वसाधारणमा लोडसेडिङ सुरु भएको भन्ने भ्रम फैलिएको उनले बताए।
शाक्यले भने, “लोडसेडिङ पुनः सुरु भएको होइन। प्राविधिक समस्या भएकाले केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको मात्र हो।” उनले प्राधिकरणले लोडसेडिङको सम्भावना पूर्णरूपमा अस्वीकार गरेको स्पष्ट पारे।
उनले हाल देशभर करिब १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको र पिक आवरमा २ हजार मेगावाटसम्म माग पुग्ने जानकारी पनि दिए। तर, प्रसारण लाइनको भारवहन क्षमता सीमित भएकाले माग अनुसारको विद्युत् आपूर्ति गर्दा लाइन ट्रिप हुने समस्या आइरहेको उनको भनाइ थियो।
“मैले स्वयं प्रणाली नियन्त्रण केन्द्रमा बसेर हेरेँ, लाइनको भारवहन क्षमता सिमित भएकाले उपत्यकामा आपूर्ति गर्न खोज्दा ट्रिप भइरहेका छन्,” शाक्यले भने।
उनले समस्या दीर्घकालीन रूपमा समाधान गर्न समय लाग्ने बताउँदै आवश्यक संरचना निर्माण र सुधार कार्य तीव्र रूपमा अघि बढाइएको जानकारी दिए।
यसबीच, प्राधिकरणले सर्वसाधारणलाई संयमित विद्युत् प्रयोग गर्न र अत्यावश्यकबाहेकका उपकरणहरू सीमित रूपमा प्रयोग गर्न आग्रह गरेको छ।
Comment