३७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, संचित मुनाफामा चमत्कारीक वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३७.१२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको समान अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो।

उल्लेखनीय कुरा के छ भने, बैंकको सञ्चित मुनाफा ६००.४४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५० करोड ६७ लाख रुपैयाँमा मात्र सीमित थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप ६.२० प्रतिशतले बढेर ५ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी पनि ५.५० प्रतिशतले वृद्धि भई ३८ अर्ब १२ करोड रुपैयाँमा पुगेको छ। यद्यपि, सञ्चित कोष (रिजर्भ) १.२९ प्रतिशतले घटेर २४ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ।

खुद ब्याज आम्दानीमा ५.४६ प्रतिशतको गिरावट आएको भए पनि, बैंकले ६ अर्ब ३३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३४.४१ प्रतिशतले वृद्धि हो। यो वृद्धिमा हानिपूर्तिमा आएको ४०.९२ प्रतिशतको गिरावटले योगदान गरेको देखिन्छ।

बैंकको कर्जा प्रवाह ११.८७ प्रतिशतले बढेर ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। तेस्रो त्रैमासको अन्त्यमा बैंकको वार्षिक आम्दानी प्रति सेयर (EPS) रु. १५.८६ पुगेको छ, जुन अघिल्लो वर्षको रु. १२.२० को तुलनामा वृद्धि हो। प्रति सेयर खुद सम्पत्ति मूल्य (Net Worth) ७.८० प्रतिशतले बढेर रु. १०९.३१ मा पुगेको छ।

बैंकले वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको समान अवधिमा घाटामा रहेको थियो।

तर, गैर-सञ्चालक कर्जा (NPL) अनुपात ४.९८ प्रतिशतमा पुगेको छ भने कर्मचारी खर्च ७.६९ प्रतिशतले वृद्धि भएको छ। त्यसो भए पनि, बैंकको कोषको लागत (Cost of Fund) ३३.१९ प्रतिशतले घटेको छ, जसले ब्याज फैलावटमा सुधार ल्याएको छ। यस अवधिसम्ममा बैंकको पीई अनुपात १३.७९ गुणा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।