राष्ट्रिय वाणिज्य बैंकको ७ प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ‘७ प्रतिशत आरबिबिएल डिबेन्चर २०८८’ नामक ऋणपत्र सार्वजनिक निष्कासन गर्दैछ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति प्राप्त गरिसकेको छ। सात वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।

कुल निष्कासनमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ९ लाख ५० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख १० गतेसम्म तोकिएको छ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बिनेछ।

यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ। बैंकलाई CARE रेटिङ नेपालले ‘CARE NP A+’ रेटिङ प्रदान गरिसकेको छ।

राष्ट्रिय वाणिज्य बैंकको अधिकृत पूँजी ३० अर्ब, जारी तथा चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।