द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियामा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधमा माफी दिन नसकिने स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले द्वन्द्वपीडितलाई न्याय दिलाउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत प्रभावकारी कार्यसम्पादन गरिने बताए।

“अब यी आयोग गठन प्रक्रियामा ढिलाइ हुँदैन। लोकतान्त्रिक प्रणालीमा पुगिसकेपछि हत्या, हिंसा, धार्मिक द्वेष, अराजकताजस्ता कार्य स्वीकार्य हुँदैनन्,” उनले भने। ओलीले अधिनायकवादी सोच परास्त भइसकेको र अब देश समृद्धिको यात्रामा अघि बढेको बताए।

उनले जनतामाझ प्रतिस्पर्धा गर्दै एमालेले विकासको अभूतपूर्व अभियान थालनी गरेकै कारण प्रतिक्रियावादी शक्तिहरूले पार्टीलाई विस्थापित गर्न खोजेको आरोप पनि लगाए।

“हामीसँग राष्ट्र निर्माण र राष्ट्रिय एकताको ऐतिहासिक पृष्ठभूमि छ। समृद्ध र सुरक्षित नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो अठोट हो,” उनले भने।

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै भूतपूर्व सैनिक तथा प्रहरी संगठनको देशप्रतिको योगदानको प्रशंसा गरे।

उनले आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा एमालेले युवासम्मेलन आयोजना गरी जनताको अधिकार र विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्ने घोषणा पनि गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।