काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको वर्तमान आर्थिक अवस्था असहज भए पनि सुधारको प्रशस्त सम्भावना रहेको बताएका छन्। महासंघको ५९ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा बोल्दै उनले राजनीतिक अस्थिरताले अर्थतन्त्रमा असर पारिरहेको उल्लेख गरे।
ढकालले राजनीतिक दलहरूबीच आर्थिक समृद्धिमा साझा धारणा आवश्यक रहेको बताए। उनले देशभित्र मर्यादित र उच्च ज्यालाको रोजगारी सिर्जना गर्न नसकेसम्म युवामा बढ्दो निराशा हटाउन नसकिने जिकिर गरे।
हाल निजी क्षेत्रले ८६ प्रतिशत रोजगारी दिइरहे पनि हरेक वर्ष पाँच लाख युवालाई रोजगारी दिन चुनौती रहेको भन्दै सरकारलाई रोजगारी सिर्जनामै केन्द्रित हुन सुझाव दिए।
सन् १९६० मा नेपाल र दक्षिण कोरियाको प्रतिव्यक्ति आयको तुलना गर्दै ढकालले नेपालले अपेक्षित प्रगति गर्न नसकेको बताए। अन्तमा, उनले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सरकार, निजी क्षेत्र र जनसाधारणले संयुक्त रूपमा लगानी, बुद्धि र सीप प्रयोग गर्नुपर्नेमा जोड दिए।
Comment