लयमा फर्कन थाल्यो वैदेशिक व्यापार,आयात-निर्यातमा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि खुम्चिएको वैदेशिक व्यापार लयमा फर्कन थालेको छ।

आर्थिक शिथिलताका कारण पछिल्ला दुई वर्ष कमजोर बनेको व्यापार चालु आर्थिक वर्षको पुस महिनादेखि सुधारोन्मुख देखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

अर्थतन्त्रमा सुधार आउन थालेपछि बजारमा उपभोग्य वस्तुको माग बढेको छ, जसले गर्दा आयात र निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। फागुन महिनामा मात्रै १ खर्ब ५६ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यद्यपि, माघ महिनाको तुलनामा फागुनमा झण्डै ९ अर्ब रुपैयाँ आयात घटेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कुल ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.२० प्रतिशतले वृद्धि भएको हो।

आयातसँगै निर्यातमा पनि ५७.२ प्रतिशतको वृद्धि देखिएको छ। फागुनसम्म नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

फागुन महिनामा मात्रै ३० अर्ब रुपैयाँको निर्यात भएको छ। निर्यात वृद्धिको प्रमुख कारण नेपालमा उत्पादित वस्तुभन्दा पनि विदेशबाट आयात गरी पुनः निर्यात गरिने सोयाबिन तेल रहेको छ, जसले कुल निर्यातको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको छ।

आयात बढेसँगै व्यापार घाटा पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्म व्यापार घाटा ६.२२ प्रतिशतले वृद्धि भई ९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ५८ अर्ब रुपैयाँ बढी हो। समीक्षा अवधिमा कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.२९ प्रतिशतले वृद्धि भएको छ। आयात र निर्यात दुबै पक्षमा वृद्धि भए पनि व्यापार घाटा उच्च नै रहेको देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।