बैंकिङ व्यवसायमा सुधारको संकेत, निक्षेपभन्दा कर्जाको वृद्धिदर धेरै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा झिनो सुधार देखिएको छ। आर्थिक शिथिलताको साढे दुई वर्षपछि कर्जा लगानीमा केही वृद्धि भए पनि अपेक्षित रूपमा भने विस्तार हुन सकेको छैन।

चालु आवको ८ महिना (साउन–फागुन)सम्म वाणिज्य बैंकहरूको कर्जा वृद्धिदर निक्षेप वृद्धिदरभन्दा धेरै रहेको छ। नेपाल बैंकर्स संघका अनुसार फागुनसम्म बैंकहरूको कर्जा वृद्धिदर ६.१२ प्रतिशत छ, जबकि यही अवधिमा निक्षेप वृद्धिदर ४.९ प्रतिशत मात्र रहेको छ।

चालु आवको ८ महिनामा २० वाणिज्य बैंकले कुल २ खर्ब ८० अर्ब रुपैयाँ नयाँ कर्जा लगानी गरेका छन्। गत असारमा ४५ खर्ब ७१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल कर्जा फागुनसम्म बढेर ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ। यसै अवधिमा बैंकहरूको कुल निक्षेप २ खर्ब ८२ अर्बले वृद्धि भई ५७ खर्ब ५५ अर्बबाट ६० खर्ब ३७ अर्ब पुगेको छ।

हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएकाले बैंकहरूले निक्षेप संकलनभन्दा कर्जा लगानीलाई प्राथमिकतामा राखेका छन्। यही कारण निक्षेप वृद्धिदरभन्दा कर्जा वृद्धिदर उच्च रहेको छ।

पुस महिनामा बैंकहरूले सबैभन्दा धेरै ९३ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए, तर यो नयाँ लगानी नभई ‘एभरग्रिनिङ’ मात्र थियो। अन्य महिनामा बैंकहरूले साउनमा २ अर्ब, भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब, मंसिरमा ४२ अर्ब कर्जा प्रवाह गरेका थिए। कात्तिकमा भने कर्जा लगानी २ अर्बले घटेको थियो। माघमा १२ अर्ब २३ करोड र फागुनमा २३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय आर्थिक गतिविधि विस्तार हुँदै गएको छ, जसका कारण कर्जाको माग पनि क्रमशः वृद्धि भइरहेको छ। हाल उद्योगहरूले चालु पूँजी, सेयर धितो, व्यापार, हायर पर्चेज, आवासीय लगायतका कर्जाका लागि माग बढाइरहेका छन्।

नेपाल राष्ट्र बैंकले कर्जाको प्रवाहलाई प्रवद्र्धन गर्न विभिन्न नीतिगत लचकता अपनाउँदै आएको छ। प्रणालीमा ६ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ भने ब्याजदर पनि पछिल्लो तीन वर्षयताकै न्यून अवस्थामा छ। घट्दो ब्याजदर र नीतिगत लचकताका कारण कर्जाको माग बढ्न थालेको देखिन्छ।

यद्यपि, चालु आर्थिक वर्षमा पनि कर्जा विस्तारको लक्ष्य पूरा हुने सम्भावना कम देखिन्छ। नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य राखेको छ, तर आठ महिनामा मात्र सो लक्ष्यको आधा हिस्सा पूरा भएको छ। ८ महिनासम्मको प्रगतिका आधारमा हेर्दा, लक्ष्य प्राप्त गर्न कठिन हुने जानकारहरू बताउँछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।