राजतन्त्रबारे माओवादीको टिप्पणी आपत्तिजनक, इतिहास नबिर्सन राप्रपाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति माओवादी नेताहरूले गरेको टिप्पणीको कडा प्रतिवाद गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले प्रचण्ड र बाबुराम भट्टराईलगायत माओवादी नेताहरूको टिप्पणीलाई ‘लज्जास्पद र हास्यास्पद’ भनेका छन्।

श्रेष्ठले माओवादी नेताहरूमाथि विदेशी एजेण्डा बोकेर नेपालको परम्परागत मूल्य मान्यतामाथि प्रहार गरेको आरोप लगाएका छन्। उनका अनुसार हत्या र हिंसा गरेर समाजलाई त्रसित बनाउने जमातले रक्तपातविहीन सत्ता हस्तान्तरण गरी सामान्य जीवनयापन गरिरहेका राजालाई आलोचना गर्न मिल्दैन।

‘यो २०६२/६३ होइन, २०८१/८२ हो,’ श्रेष्ठले लेखेका छन्, ‘विगत २० वर्षमा नवधनाढ्य बन्ने होडबाजी, शासकीय अक्षमता र भ्रष्टाचारका कारण माओवादी क्रान्तिकारिता खिया लागेर कमजोर भइसकेको छ।’ उनले माओवादी नेताहरूको नैतिक सामर्थ्य समाप्त भएको र उनीहरूको नक्कली क्रान्तिकारिता अब जनताले नपत्याउने दाबी गरेका छन्।

श्रेष्ठले हरेक नेपालीलाई देशको दुरावस्थाबारे बोल्ने अधिकार भएको उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि यस्तो अधिकार रहेको बताएका छन्। साथै उनले राजा एक्लो नभएको भन्दै चेतावनीपूर्ण टिप्पणी समेत गरेका छन्।

यसअघि माओवादी नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका विभिन्न अभिव्यक्तिहरूको आलोचना गर्दै आएका थिए। राप्रपा प्रवक्ता श्रेष्ठको यो प्रतिक्रियाले राजनीतिक वृत्तमा नयाँ बहस थपिने देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।