सूचना माग गर्ने शिक्षकलाई सेवाबाट हटाइयो, पुनर्बहाली गरी सूचना दिन महासङ्घको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण सेवाबाट अवकाश दिएको घटनाप्रति आपत्ति जनाउँदै ती शिक्षकलाई पुनर्बहाली गराउन माग गरेको छ ।

 भोजपुर नगरपालिका वडा नं.–११ आम्तेक, भोजपुरका स्थानीयवासी एवं भोजपुर नगरपालिका वडा नं.–९ मा रहेको युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीका शिक्षक ईश्वरीप्रसाद ढकालले आफू अध्यापनरत विद्यालयमा सूचना माग गरेकै कारण जागीरबाट निकालेको घटनाप्रति महासङ्घको आपत्ति जनाएको हो ।

महासङ्घका अध्यक्ष उमीद बागचन्द र महासचिव पूर्णप्रसाद मिश्रले आज जारी गर्नुभएको विज्ञप्तिमा  विद्यालयजस्तो सरस्वतीको मन्दिरमा राज्यले बनाएको कानुनको अधीनमा रही नागरिकका नाताले सूचना माग गर्दा जागीरबाट निकालिनुपर्ने घटनाले विद्यालय सञ्चालकको चेतनास्तरमाथि नै प्रश्न गरेको उल्लेख छ । 

सूचनाको हक सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ ले गरेको व्यवस्था अनुसार प्रक्रिया पु¥याएर सूचना माग गरेका ढकाललाई विद्यालयका सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना दिएनन् ।

सूचना नदिएपछि ढकालले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरी आयोगले पनि सूचना दिन आदेश गरिसकेको अवस्थामा सूचना मागकर्तालाई सेवाबाट हटाउनु नेपालको कानुनविपरीत रहेकाले तत्काल पुनर्बहालीका लागि महासङ्घले जोडदार माग गरेको हो । ढकाललाई विद्यालयले निकालेको मिति २०८१ फागुन १ गतेकै मितिदेखि लागु हुने गरी पुनर्बहाली गरी निजले माग गरेको सूचना आयोगकै आदेशबमोजिम दिनुपर्ने महासङ्घको भनाइ छ । ढकाललाई पुनर्बहाली गरी सूचना नदिएमा महासङ्घ कडाभन्दा कडा कदम चाल्न बाध्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।