काठमाडौं । भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ।
नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति करिब ९:२६ बजे सो भागदौड मच्चिएको हो ।
उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ।
सो भागदौड मा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० महिला र ३ बालबालिका छन्। २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ।
दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जानका लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो। राति करिब ८:३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चिएको थियो।
सुरुमा उत्तरी रेलवेका सीपीआरओ (प्रमुख जनसम्पर्क अधिकारी) ले भागदौड भएको कुरालाई अस्वीकार गरेका थिए। उनले यो केवल हल्ला मात्र भएको बताएका थिए।
तर दिल्लीका उपराज्यपाल वीके सक्सेनाले ट्वीट गर्दै मृत्युप्रति समवेदना व्यक्त गरेका छन्। त्यसको २० मिनेटपछि लोक नायक जय प्रकाश अस्पतालले १५ जनाको मृत्युको पुष्टि गर्यो। रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्।
यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा ३० जनाको मृत्यु भएको थियो। त्यही समयमा फेब्रुअरी १०, २०१३ मा कुम्भको समयमा प्रयागराज स्टेशनमा भागदौड मच्चिएको थियो। दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो।
Comment