काठमाडौं । सेयर बजार लगातार तेस्रो दिन वृद्धि भएको छ । यस साता आइतबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । तीन दिनमा नेप्से झण्डै २५ अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ बिन्दुमा पुगेको छ । सूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २८ करोड रुपैयाँले घटेर ६ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने व्यापार समूह २.१० प्रतिशतले घटेको छ ।
आज सीईडीबी होल्डिङको सर्वाधिक २३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ ।
आज मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०६ प्रतिशत, न्यादी हाइड्रोपावर ७.५३ प्रतिशत, सीईडीबी होल्डिङको ६.९३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पावरको सेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।
आज रिभर फल्स पावरका सेयरधनीले भने सर्वाधिक ८.९६ प्रतिशत गुमाएका छन् ।
Comment