वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण गर्दै त्यसको निन्दा गरेको छ। कांग्रेसले घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।

बुधबार रवि लामिछानेको थुनछेक बहसपछि अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए।

यस घटनाप्रति कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो प्रकारको अराजक गतिविधि पार्टीलाई स्वीकार्य नभएको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारीको अपचलन र ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सकिएपछि बाहिर निस्कँदै गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई केही व्यक्तिहरूले अदालत परिसरमै आक्रमण गर्न खोज्ने, लछारपछार गर्ने र दुव्र्यवहार गर्ने कार्यप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।’

विधिको शासनमा जोकोहीले पक्ष र विपक्षमा बहस गर्ने अधिकार सुरक्षित रहेको उल्लेख गर्दै कांग्रेसले यस्तो आक्रमणलाई अत्यन्त दुःखद घटना भनेको छ।

‘विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यस्ता अराजक गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। यसप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले घटनामा संलग्न जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याएर कडा सजाय दिन सरकारसँग जोडदार माग गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।