काठमाडौं । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) ३ वर्ष यताकै सस्तो भएको छ । बैंकहरूले निक्षेपको ब्याजदर १४ महिना यता लगातार घटाएसँगै लागत घट्न गई बेसरेट पनि सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि निकै सस्तिएको छ ।
वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ७.२७ प्रतिशतमा झरेको छ । यो २०७८ मंसिर यताकै सस्तो हो ।
पछिल्लो १ वर्षमा मात्रै बैंकहरूको बेसरेट २.६८ प्रतिशत बिन्दुले घटेको छ । गत मंसिरमा औसतमा ९.९५ प्रतिशत रहेको बैंकहरूको बेसरेट चालु आवको सोही अवधिमा घटेर ७.२७ प्रतिशतमा आएको हो ।
बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले ७.२७ प्रतिशतमा झरेको हो ।
आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । पछिल्लो १ वर्षको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।
बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो ।
नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू घटाउँदा पनि बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत र निक्षेप संकलन बोलकबोलदर ३ प्रतिशतमा झारेको थियो ।
हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये २ बैंकको बेसरेट मात्रै ८ प्रतिशत माथि छ । १८ वाणिज्य बैंकको बेसरेट ८ प्रतिशत कम छ । जसमा ९ बैंकको बेसरेट औसतभन्दा पनि कम रहेको छ । ५ बैंकको बेसरेट ७ प्रतिशतभन्दा पनि कम छ ।
२० बैंकमध्ये १८ वटाले चाहेमा साढे ८ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्ने भएका छन् । बैंकहरूले चाहेमा १ प्रतिशतभन्दा कम प्रिमियममा पनि ऋण दिन सक्छन् । र, अहिले केही बैंकले ०.२५ प्रतिशत प्रिमियममा मात्रै पनि ऋण दिन थालेका छन् । नयाँ ऋणको माग नभए पनि अहिले बैंकहरू बीच एक अर्काको पुरानो कर्जा खोस्ने अस्वस्थ्य प्रतिस्पर्धा चल्न थालेकाले अति न्यून प्रिमियममा ऋण दिन थालेका छन् । यसले केही बैंकलाई घाटा पुगे पनि ग्राहकलाई भने फाइदा पुगेको छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १२/१३ प्रतिशतमा झरेको छ ।
कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?
बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।
ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ । अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् भने न्यूनतम ०.५ प्रतिशत प्रिमियममै ऋण दिन्छन् ।
हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छ । यस बैंकको बेसरेट ५.७१ प्रतिशत छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । चार्टर्डले बेसरेटमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर न्यूनतम ६.७१ प्रतिशतमै ऋण दिन सक्छ । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडेर पनि अधिकतम् ११ प्रतिशतमै ऋण दिन सक्छ ।
त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यको पनि बेसरेट ६.०१ प्रतिशत मात्र छ । यसले पनि चाहेमा १ प्रतिशत प्रिमियम जोडेर ७ प्रतिशतभन्दा कममै ऋण दिन सक्छ ।
त्यस्तै, नेपाल, एभरेष्ट र नबिल बैंकको पनि बेसरेट ७ प्रतिशतभन्दा कम छ । यी बैंकले चाहेमा न्यूनतम साढे ७ प्रतिशत ब्याजदरमै ऋण दिन सक्छन् ।
कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा ग्लोबल आइएमई, सानिमा, एनएमबी र सिद्धार्थ बैंकको बेसरेट साढे ७ प्रतिशतभन्दा कम छ । यी बैंकले पनि चाहेमा न्यूनतम ८ प्रतिशत ब्याजदरमै कर्जा दिन सक्छन् ।
त्यस्तै, नेपाल एसबीआई, माछापुच्छ्रे, प्रभु, कुमारी, लक्ष्मी सनराइज र सिटिजनस बैंकको बेसरेट ७.५ देखि ८ प्रतिशतको बीचमा छ ।
२० बैंक मध्ये हिमालयन र एनआइसी एशियाको मात्रै बेसरेट ८ प्रतिशत माथि छ । तुलनात्मक रुपमा यी बैंकबाट ऋण लिँदा केही महँगो पर्छ । विगतमा महँगो निक्षेप उठाएका कारण यी बैंकको बेसरेट घट्न नसकेको हो ।
Comment