सरकारले ४ महिनामै उठायो १.६५ खर्ब ऋण, कुल ऋण २५ खर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा डेढ खर्ब रुपैयाँ बढी सार्वजनिक ऋण उठाएको छ । चालु आवका लागि ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको सरकारले ४ महिनामै लक्ष्यको ३०.३० प्रतिशत ऋण उठाएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको कात्तिक मसान्तसम्म सरकारले कुल १ खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण उठाएको छ ।

चालु आवका लागि सरकारले ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकामा वार्षिक लक्ष्यको ४३.६४ प्रतिशत अर्थात् १ खर्ब ४४ अर्ब पहिलो चौमासिकमा उठाएको छ । त्यस्तै, रु २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा कात्तिक मसान्तसम्ममा १०.१ प्रतिशत अर्थात् २१ अर्ब ७२ करोड रुपैयाँ ऋण लिइएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब रुपैयाँ सरकारी ऋण थपिएको छ । नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४ प्रतिशत नाघेको हो ।

‘चालु आवको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ,’ कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘जुन कुल जिडिपीको ४४.१४ प्रतिशत हुन आउँछ ।’

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब ५२ अर्ब १६ करोड १८ लाख रुपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब ६५ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ बराबर छ । जीडीपीका आधारमा ऋण प्रतिशत हेर्दा आन्तरिक ऋण २१.९५ प्रतिशत र बाह्य ऋण २२.१९ प्रतिशत हो ।

चालु आवमा सरकारी ऋणको साँवाब्याज भुक्तानी गर्नका लागि सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्ममा १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ साँवाब्याज भुक्तानी भइसकेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । कुल जीडीपीको आधारमा कात्तिक मसान्तसम्ममा ऋणको साँवाब्याज तिर्न भएको खर्च १.९० प्रतिशत बराबर हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।