खाद्यवस्तुको मूल्य वृद्धि उच्च, तरकारीको २५ प्रतिशत बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

‘२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।’

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५.१५ प्रतिशतले वृद्धि भएको छ । जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत, मरमसलाको ०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४९, मदिराजन्य पेय पदार्थको ६.३२, कपडाजन्य तथा जुत्ता चप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७६ प्रतिशतले वृद्धि भएको छ ।

प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६, मधेश प्रदेशको ५.०८, बागमती प्रदेशको ४.२४ र गण्डकी प्रदेशको ३.९८ प्रतिशत रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशको ४.४२, कर्णालीको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५०, तराईको ५.२३, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।