काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन् ।बुधबार वर्तमान सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै उनले यस्ताे जानकारी दिएका हुन् ।
उनले विपद्बाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए ।
‘वर्तमान सरकार बनेको केही दिनअघि सिमलतालस्थित त्रिशूली नदीमा बस खस्दा तीर्थयात्री बेपत्ता भएको दुःखद घटनाबाट शोकमा थियौँ । त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुक गत असोज १० गतेदेखि १३ गतेसम्म अकल्पनीय बाढी पहिरोको चपेटामा पर्यो । यसै अवधिमा देशभर ७ हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्यो । कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत्लगायत भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।’
पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनामा सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘बाढी पहिरोका कारण मृत्यु भएका ३९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन् । बाढी पहिरोबाट प्रभावित २ हजार ५५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्काल प्रदान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राख्यौँ । हामी अहिले बाढीपहिरोले क्षति पुर्याएका भौतिक संरचनाको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायत अत्यावश्यक सेवा पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेका छौँ ।’
Comment