दुई वाणिज्य बैंकको नाफा साढे १७ अर्ब नाघ्यो, कसले कति कमाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरूको नाफामा सुधार आएको आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन–भदौ)मा वाणिज्य बैंकहरूले कुल १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो गत आवको भदौसम्मको तुलनामा ६.२७ प्रतिशत धेरै हो । वाणिज्य बैंकहरूले गत वर्षको भदौसम्म १६ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएका थिए । चालु आवको दुई महिनामा वाणिज्य बैंकहरूले औसतमा १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

साउनको तुलनामा भने भदौमा बैंकहरूको नाफा घटेको छ । साउनमा कुल ९ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले भदौमा ८ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

कर्जा विस्तार र रिकभरी दुवैमा सुधार आउँदा बैंकहरूको नाफा बढेको हो । साथै, नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाका कारण पनि बैंकहरूको नाफामा सुधार आएको हो ।

विगत डेढ वर्षदेखि सुस्त रहेको कर्जा लगानी भदौमा ह्वात्तै बढेको थियो । यस महिनामा मात्रै बैंकहरूले ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नयाँ व्यवसाय विस्तार हुँदा बैंक्हरूको आम्दानी वृद्धि हुन गई नाफामा पनि सुधार आएको हो ।

त्यस्तै, राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत बैंकहरूले असल धितोमा राख्नुपर्ने नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) १.२ प्रतिशतबाट घटाएर १.१ प्रतिशतमा झारेको थियो । यस व्यवस्थाले पनि नाफा बढाउन सहयोग पुर्याएको छ । साथै, कर्जा रिकभरीमा पनि केही सुधार आउँदा बैंकहरूको नाफा बढेको हो ।

गत वर्षको भदौसम्मको तुलनामा यस वर्ष सोही अवधिमा १५ बैंकको नाफा बढेको छ भने ५ बैंकको घटेको छ । समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया, हिमालयन, कुमारी र ग्लोबल आइएमईको नाफा घटेको छ । एनआइसी एशियाको सर्वाधिक २७.८५ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कृषि विकास बैंक र नेपाल एसबीआइले भने नाफा दोब्बरभन्दा धेरैले बढाएका छन् । नेपाल एसबीआइ बैंकको नाफा सबैभन्दा धेरै ९५.६ प्रतिशतले बढेको छ । त्यस्तै, कृषि विकास ४४.०९ प्रतिश, प्रभु ३७.५ प्रतिशत, सानिमा ३४.६ र स्ट्याण्डर्ड चार्टर्डको २५.१३ प्रतिशतले बढेको छ ।

कुनले कति कमाए ?

दुई महिनामा नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । दुई महिनामा नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, ग्लोबल आइएमईले दोस्रो धेरै १ अर्ब ५६ करोड ६१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा १ अर्ब ४१ करोड २८ लाख, हिमालयन १ अर्ब १६ करोड र कुमारीले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका छन् ।

त्यसैगरी, भदौसम्म प्राइम कमर्शियल ९७ करोड, प्रभु ९१ करोड, कृषि विकास साढे ८८ करोड, राष्ट्रिय वाणिज्य ८८ करोड, लक्ष्मी सनराइज ८६ करोड, एभरेष्ट साढे ८२ करोड, एनएमबी ७८ करोड, सानिमा ६९ करोड, नेपाल साढे ६७ करोड, स्ट्याण्डर्ड चार्टर्डले साढे ६० करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, सिद्धार्थ साढे ६० करोड, सिटिजन्स ५९ करोड, एनआइसी एशिया साढे ५७ करोड, नेपाल एसबीआई ५३ करोड र माछापुच्छ्रेले सबैभन्दा कम ३९ करोड रुपैयाँ नाफा कमाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।