काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष बीच एपीआइ आधारित होस्ट-टु-होस्ट (एचटूएच) भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ।
यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एप (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसो गर्दा, कर्पोरेट भुक्तानीहरू जस्तै, व्यवसायदेखि ग्राहक (बीटूसी), व्यवसायदेखि व्यवसाय (बीटूबी) र व्यवसायदेखि सरकार (बीटूजी) सम्मको भुक्तानी सरल र सजिलो भएको छ ।
साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।
यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् ।
आधुनिक डिजिटल भुक्तानी पूर्वाधारस जस्तै होस्ट-टु-होस्ट (एचटूएच) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरूको साथसाथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी प्रयोगकर्ताहरूको लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँग प्रतिबद्ध रहेको बताए ।
‘हामीले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर, प्रयोगकर्ताहरूलाई केवल सुविधा मात्र दिइरहेका छैनौं । हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका छौं। यो साझेदारीले, हाम्रो प्रतिबद्दता अनुरुप, वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँच योग्य र ग्राहक मैत्री बनाएको छ । हामीले यस साझेदारी मार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौं।’
कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले फोनपे सँगको सहकार्य वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम भएको बताए ।
‘फोनपे सँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो। कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरुमा डिजिटल भुक्तानी सेवा सुचारुले, हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेछ। यस साझेदारीले, हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ,’ उनले भने ।
Comment