स्व. सुवासचन्द्र नेम्वाङको नाममा प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन्।

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन्।

सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्रीले बताए।

“सुवाषचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरुलाई पछ्याएर केही कामहरु गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाउँमा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु।” उनले भने।

प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पार्ने उनको भनाइ थियो।

“नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा, आकंक्षा र प्रवृत्ति अनुरूप चल्नेछ।” उनले भने।

नेताहरुका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि उनले सुनाए। पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको उनले आरोप लगाए। पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने धारणा राखे।

“अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरु अध्यक्ष भए। पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी जस्तो। पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट माधव नेपाल पो कुद्नुभएको त। पुष्पलाल त कुद्नुभएको होइन नि। पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ?” उनले भने।

प्रधानमन्त्री ओलीले नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने धारणा राखे।

उनले प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइने पनि बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।