काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबीच भगिनी सम्बन्धका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमबीच कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात नगर प्रमुख कार्कीले जापानको ओत्सुकी शहरसँग कला, संस्कृति, खेलकुद, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी भएको बताए ।
उनले जापानको ओत्सुकी शहर र कागेश्वरी मनोहरा नगरपालिकाबीच आपसी सहयोग आदानप्रदान र प्रवद्र्धनका लागि फ्रेण्डसिप सिटी एक्सचेन्जका लागि दुई शहरबीच भगिनी सम्बन्ध कायम गरिएको बताए । मेयर कार्कीले दुई शहरकाबीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गरिने जानकारी दिए ।
उनले संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान पनि हुने उल्लेख गरे । नेपालको तुलनामा जापान पूर्वाधार र प्रविधिको विकासमा निकै अघि रहेकाले त्यहाँको असल अभ्यासहरुलाई नगरपालिकाले अनुशरण गर्ने बताए
सम्झौता पत्रमा हस्ताक्षर पश्चात जापानका उच्च अधिकारीहरुले पनि नेपालको शहरसँग भगिनी सम्बन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
Comment