तारा एयरले भोलिदेखि पुनः पोखरा-जोमसोम उडान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तारा एयरले भोलि (भदौ १८ गते)देखि पुनः पोखरा-जोमसोम रुटमा नियमित उडान गर्ने भएको छ । प्रतिकूल मौसमका कारण बन्द भएको उक्त रुटको उडान ताराले फेरि भोलिदेखि सुरू गर्ने भएको हो ।

मौसममा सुधार आएको र पर्यटकीय सिजन समेत सुरू हुन लागेकाले अब नियमित उडान गरिने कम्पनीले जनाएको छ । तारा एयरका अनुसार मौसम अनुकूल भए दैनिक पाँच उडान गर्ने गरी तालिका मिलाइएको छ ।

जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा जहाज पोखरामै रात्रि बिसान गर्ने छ । हालका लागि तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ ।

मुस्ताङस्थित जोमसोम विमानस्थल समुद्री सतहबाट २ हजार ७३६ मिटर उचाइमा छ । यसको रनवेको लम्बाइ ७३९ मिटर छ ।

यस्तै, ताराले असोज ४ गतेदेखि रामेछाप-लुक्ला-रामेछापका नियमित उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । कम्पनीले मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका राखेको छ ।

ताराले काठमाडौंबाट लुक्ला, फाप्लु, मन्थलीबाट लुक्ला, पोखराबाट जोमसोम र नेपालगञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायत दुर्गम क्षेत्रमा हवाई सेवा दिँदै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।