‘छक्का पञ्जा ५’ सँग भिड्दै जितुको ‘ज्वाइँ साब’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ व्यावसायिक भिडन्तको अवस्थामा आइपुगेका छन्।

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्दै आएको छक्कापन्जा चलचित्र शृङ्खलाको भाग ३ सम्म दीपक र जितु सँगसँगै थिए।   दीपक–दीपाले ‘छक्कापन्जा–५’ बनाइरहँदा जितु नेपालले ‘ज्वाइँसाब’ बनाएका छन्। छक्कापन्जा–५ मा केदार घिमिरे, निर्मल शर्मा जस्ता हास्य कलाकारको अभिनय छ।

ज्वाइँसाबमा बुद्धि तामाङ र हिमेश पन्त जस्ता हास्य कलाकार छन्। कथाभन्दा बढी कमेडीप्रधान बनाउँदै आएका दीपक–दीपाको छक्कापन्जा–५ र जितु अभिनीत ज्वाइँसाब चलचित्रको प्रदर्शन मिति एकै दिन तोकिएको छ। यसले समेत दीपक–जितुको व्यावसायिक भिडन्तका रूपमा चलचित्र क्षेत्रमा बुझिन थालिएको छ। 

‘छक्कापन्जा–५’ को सोमबार पहिलो गीत ‘बिहे भाको छैन’ सार्वजनिक गरिएको थियो। ज्वाइँसाबको पहिलो पोस्टर सार्वजनिक गरिएको छ। छक्कापन्जा–५ मा दुई व्यक्तिको प्रेमकथा देखाइएको ‘बिहे भाको छैन’ गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ। गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द तथा शर्माकै सङ्गीत छ। 

सुनील क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा दीपकराज गिरी र वर्षा शिवाकोटीको अभिनय रहेको छ। दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ। चलचित्रमा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाईंको छायाङ्कन छ।

कलाकार दीपकराज गिरीका अनुसार चलचित्र दसैँमा प्रदर्शन गर्ने भनेर पाँच महिनाअघि नै घोषणा गरिएको हो। उनले भने, “हामीसँग चलचित्र जुधाउन आउनुले खासै केही तुक राख्दैन। जेठान आउँथ्यो होला ज्वाइँ आयो। साधारण कुरा हो। आफ्नो कर्म गर्ने हो महाभारतमा ठुलाबाउ, काकाबाउ त लडेका थिए, यहाँ त साथीभाइ भिड्दै छौँ।” 

चलचित्र ‘ज्वाइँसाब’ का निर्देशक वसन्त निरौलाका अनुसार छक्कापन्जा–५ को प्रदर्शनसँग चलचित्र जुधाउने हिसाबले प्रदर्शन गर्न लागेको होइन। त्यही मितिमा प्रदर्शन समय पाएको हुनाले यस्तो पर्न गएको हो। उनले भने, “हामीले ठुलो ब्रान्डको चलचित्रसँग कहाँ भिड्न सक्छौँ र? यदि दसैँमा प्रदर्शन नगरिए एक वर्षसम्म चलचित्रको प्रदर्शनको समय पाउन मुस्किल रहेको छ। हामीले प्रदर्शन समय नै पाउँदैनौँ।”

निरौला निर्देशित चलचित्र ‘ज्वाइँसाब’ मा जितु नेपालको प्रमुख भूमिका छ। राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रमा जितुलाई नायिका नीति शाहले साथ दिएकी छन्। चलचित्रमा बुद्धि तामाङ, शिशिर बाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डेलगायत कलाकारको अभिनय रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।