काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन् ।
आइतबार मन्त्रालयमा मन्त्री बनेको एक महिना पुग्नै लाग्दा आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले बिमाको दायरा बढाएर कम्तीमा पाँच लाख बनाउने प्रस्ताव गरेका हुन् । हाल स्वास्थ्य बिमाको सीमा एक लाख छ ।
मन्त्री पौडेलले स्वास्थ्य सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रियालाई सहज बनाउन, आबद्धतालाई द्रूत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारीमा आफू रहेको बताउँदै भने ‘आम्दानीको आधारमा प्रिमियम र सह–भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।’
सरकारले सञ्चालन गरिरहेको निःशुल्क र सहुलियतका कार्यक्रमलाई बीमासँगै जोडेर लैजाने पौडेलले बताए । उनले बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि ४० अर्ब लाग्ने भन्दै त्यसको स्रोत सुनिश्चिता गर्न सकिने योजना प्रस्तुत गरे ।
स्रोत व्यवस्थापनका लागि स्वास्थ्य करकोष थप गर्ने, चिनीजन्य पदार्थमा प्रयोग हुने खाद्य तथा पेय पदार्थमा अनिवार्य कर लगाउने, विभिन्न संगठित संस्थाका उपचार कोषलाई स्वास्थ्य बीमा कोषसँग आवद्ध गर्दै लाने उनले प्रस्ताव गरेका छन् । पौडेलले
आकस्मिक बाहेक निःशुल्क उपचारका सबै कार्यक्रमलाई बीमा आबद्ध गरी निःशुल्क उपचारका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराउने अनुदान बीमामार्फत उपलब्ध गराउने योजना रहेको बताए ।
मन्त्री पौडेलले काठमाडौमा स्नायु रोग उपचार केन्द्र स्थापना गरिने, शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रलाई ५०० शय्यामा विस्तार गर्ने, कान्तिबाल अस्पतालको पूर्वाधार थप गर्दै तत्काल नै आईसीयू सेवा पूर्ण रुपमा सञ्चालन गर्ने, जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था मिलाउने, छात्रवृतिमा अध्ययन गरेका चिकित्सकलाई व्यवस्थित गरी ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याने लगायतका योजना ल्याएका छन् ।
त्यसैगरी उनले आधारभूत स्वास्थ्य संस्था निर्माण र सञ्चालन गर्नका लागि स्रोत सुनिश्चिता नभई अधुरा गरेका स्वास्थ्य संस्थालाई क्रमिक रुपमा स्रोत व्यवस्थापन गरी अगाडि बढाउने, ठूला अस्पतालको सेवा विस्तार एंव अस्पतालमा शल्यक्रिया क्षमता विस्तार गरी लामो लाइन पर्खनुपर्ने बाध्यतालाई हटाउन काम गरिने, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यदक्षाको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि बताएका छन् ।
पौडेलले ओपीडी सेवालाई प्रभावकारी बनाउन केन्द्रीय अस्पतालले दुई सिफ्टमा सेवा दिन थालेको बताउँदै अब शल्यक्रियाका लागि पालो पर्खिनुपर्ने अवस्थालाई अन्त्य गर्न स्वास्थ्यकर्मी प्रोत्साहन भत्ता थप गर्दै दुई सिफ्टमा काम गर्ने बताए । आफूले ल्याएका कार्यक्रमका लागि स्रोत जुटाउन दातासँग सहयोगका लागि आग्रह गरिने उनले बताएका छन् ।

 
		    		 About Us
                        About Us
Comment