काठमाडौं । हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण भएका छन् । बैंकले सिभिल बैकलाई गाभेपछि एकै स्थानमा रहेका दुई शाखामध्ये एउटा शाखा अन्यत्रै स्थानान्तरण गरेको हो ।
बैंकका अनुसार ललितपुरको जाउलाखेल शाखालाई ललितपुर महानगरपालिका वडा नं. २७, सुनाकोठीमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै, जनकपुरको भानुचोकको शाखालाई धनुषाको पिडारी चोकमा स्थानान्तरण गरेको छ । बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले गरेका थिए ।
स्थानान्तरण गरिएका दुवै शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले हाल देशभरका १७४ शाखा, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Comment