काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालय परिसरमा बिहान १०ः४५ बजेदेखि शपथ सुरु हुने कार्यालयले जनाएको छ ।
प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल काँग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा लामा हिजो मुख्यमन्त्री नियुक्त भएका थिए ।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आव्हान गरेका थिए।
Comment