प्रवेश गरेको १५ दिनमा देशभर फैलियो मनसुन, बाढीपहिरोको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यसवर्षको मनसुन आजबाट देशभर फैलिएको छ । जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन १५ दिनमा देशभर फैलिएको हो ।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो नेपाल प्रवेश गरेको थियो । जेठ २८ गते कोसी प्रदेशमा प्रवेश गरेको मनसुन सोही प्रदेशको बाँकी भू–भाग, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा असार ९ गते पुगेको थियो । नेपालमा सरदरमा १३ जूनमा मनसुनी प्रणाली भित्रिन्छ।

मनसुन भित्रिएको एक साताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो। असार ६ मा मात्रै मनसुनी प्रणाली कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा सक्रिय भएको थियो। यद्यपि कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा मनसुनी वायु पुगेको थिएन।

सोमबारदेखि भने सबै क्षेत्रमा मनसुनी वायु पुगेको हो। यसले यो वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको विभागले जनाएको छ।

मनसुन शुरू भएको दुई साता बितिसके पनि एकाध स्थान बाहेक अन्यत्र उल्लेख्य पानी पर्न सकेको छैन। विभागले आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा अत्यधिक वर्षा हुन सक्ने जनाएको छ। विभागले कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

नेपालमा मनसुनी वायु पूर्वी क्षेत्र हुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ। मनसुनी वायुले पश्चिमी वायुलाई धकेल्दै लग्दा क्रमशः मनसुन प्रभावशाली भएर पानी पर्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।