काठमाडौं । गोल्छा ग्रुपले आयोजना गर्ने ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुला भएको छ । १३ देखि १९ वर्षका किशोरकिशोरीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगिातका लागि आवेदन खुला गरिएको हो ।
यसको विजेता आगामी सेप्टेम्बरमा घोषणा गरिने छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरू लगयता क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरीहरूले निःशुल्क अनलाइन आवेदन दिन सक्नेछन् ।
पहिलो चरणमा कुल आवेदनहरूको पहल, प्रभाव र उपलब्धिका आधारमा ग्लोकल २०अन्डर२० को छनोट गरिनेछ। त्यसपछि उनीहरूको दृष्टिकोण, कामको सुरूवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, मनोवृत्ति र दूरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ । तिनै ६ मध्येबाट एकजना ग्लोकल टीन हीरो नेपाल २०२४ को विजेता घोषणा गरिनेछ ।
यस वर्ष देशका ५० बढी शहरहरू र १००० विद्यालय÷कलेजहरूका १ लाखभन्दा बढी किशोर किशोरीहरूसम्म पुग्ने लक्ष्य रहेको आयोजकले बताएको छ ।
ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्यलाई र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ । ग्लोकल नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ।
यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरूमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरूवातको लागि थप उर्जा प्रदान गर्दछ। नेपालबाट सन् २०१५ मा सुरू भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र पहिचान गरेर पछि सन् २०१६ सम्ममा यस कार्यक्रमले देशभरिका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो।
हालसम्म नेपालका ९ जना किशोर किशोरिहरूलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ । दक्षिण एशियाका अन्य देशहरूमा यसको पहुँच विस्तार गर्ने दृष्टिकोणका साथ, ग्लोकल टीन हिरो भारतमा २०१९ मा, श्रीलंकामा २०२० मा, र बंगलादेशमा २०२२ मा सुरू गरिएको थियो।
प्रतियोगिताको निर्णायक टोलीमा गोल्छा गु्रपकी डाइरेक्टर सीमा गोल्छा, डब्ल्यूडब्ल्यूएफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, एस इन्सिच्युटका डाइरेक्टर आशिष तिवारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहेका छन् ।
यस प्रतियोगिताको पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, केएफसी, पंचकन्या गु्रप, डिशहोम गो, एस इन्सिच्युट र रियल् जुस रहेका छन् । प्रारम्भ साझेदारको रूपमा द् सोल्टी काठमाडौं, आतिथ्य पार्टनरमा कोजी होम, एयरलाइन्स पार्टनरमा यति एयरलाइन्सस पी आर साझेदारमा प्रिज्मा एडभरटाइजिङ, आउटरिच पार्टनरमा एनएनक्यू र समर्थकमा पिज्जा हट रहेका छन्।
Comment