मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ : राष्ट्रपति पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्रउद्यमशीलताको विकास गर्नउद्यमी र श्रमिकको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छन् । 

बुधबार अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले देशको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणमा जोड दिँदै मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताएका हुन् । 

“मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ,”  राष्ट्रपति पौडेलले भनेका छन् । 

विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिने,श्रमको सम्मान हुने, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पौडेलको छ । 

यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विस्वास राष्ट्रपति पौडेलको छ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक एवम् श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको उल्लेख गरेका पौडेलले लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने अपेक्षा गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।