आज घोडेजात्रा पर्व, काठमाडौंमा विदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख दिँदैन ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ ।

आजको दिन जङ्गबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।