चेम्बर एक्स्पो भृकुटीमण्डपमा सुरु,भक्तपुरको ‘जुजु धौ’ प्रमुख आकर्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा  चेम्बर एक्स्पो बिहीबार सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सुरु मेलामा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय बस्तुहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । 

मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरू लगायत जडीबुटी, आयुर्वेदिक जन्य बस्तुहरू पनि प्रदर्शनीमा राखिएका छन् । यस्तै अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू समेत प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ ।

मेलामा स्वदेशी उद्योगी व्यवसायीसँगै भारत, बङ्गलादेश पाकिस्तान लगायतका मुलुकका उद्योगी व्यवसायीले सहभागिता जनाएका छन् ।

यस पटकको चेम्बर एक्स्पाेमा काठमाडौं उपत्यका भित्र प्रसिद्ध रहेको भक्तपुरमा मौलिक तरिकाले बनाइने दही अर्थात् जु-जु धौ  प्रमुख आकर्षणको रुपमा रहेको छ । 

‘जुजु धौ’लाई ‘दहीको राजा’ भनेर पनि चिनिन्छ । नेवारी भाषामा ‘जुजु’को अर्थ राजा र ‘धौ’ को अर्थ दही भन्ने हुन्छ।

भनाइ के छ भने कुनै समयमा मल्लकालीन राजाहरुले दही प्रतियोगिता सञ्चालन गरेछन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट दही बनाउने मानिसहरु राजालाई दही चढाउन गएछन् । राजालाई भक्तपुरको दही मीठो लाग्यो र त्यस दिनदेखि ‘जुजु धौ’को इतिहास लेखियो । अहिले भक्तपुर पुग्दा आन्तरिक तथा बाह्य पर्यटक यसको स्वादमा रमाइरहेको देख्न सकिन्छ । भक्तपुरको पहिचान बोकेको यो दही बनाउने प्रक्रिया निकै कठिन छ । 

भक्तपुरको बंशगोपाल चोक बस्ने राधेश्याम कर्माचार्य २० बर्ष वर्षदेखि ‘जुजु धौ’ व्यवसायमा आवद्ध छन् । उनको बुबाले सुरु गरेको बाराही जुजु धौ भण्डार भक्तपुरकै पुरानो दही पसल मध्येको एक हो । 

कर्माचार्यको दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । दही बनाउन चाहिने दूध बिहानै आइपुग्छ । पहिले पहिले भक्तपुर वरिपरिबाट संकलन गरिने दूध अहिले काभ्रे, नगरकोट, हेटौंडा र चितवनबाट ल्याउने गरेको उनी बताउँछन् । 

‘जुजु धौ’को अर्को खासियत भनेको यसमा भैँसीको दूध बढी प्रयोग गरिन्छ । भैँसीको दूध गाईको दूधको तुलनामा बाक्लो र मीठो हुन्छ । किसानले भैँसीभन्दा गाई धेरै पालेकाले पनि दूध कम मात्रामा उत्पादन भएको भन्ने ठम्याइ छ उनको । 

कर्माचार्यले दैनिकरुपमा ५ देखि १० क्यान दूध दही बनाउन खपत गर्छन् । सिजनमा धेरै दूध प्रयोग हुने भए पनि दूध पाउन भने समस्या भएको उनको भनाइ छ । 

कसरी बनाइन्छ ‘जुजु धौ’ यस्तो छ प्रक्रिया 

‘जुजु धौ’ बनाउन ५ फ्याटको दूध चाहिन्छ । त्यसलाई एक घण्टा ठूलो कराईमा उमालिन्छ । पहिले–पहिले दाउराको आगोमा उमाले पनि समयसँगै ग्यास र आधुनिक भ्याट मेसिनले दाउरा विस्थापित गरेको देखिन्छ । भ्याट मेसिनको अर्को फाइदा भनेको यसले चाहिएको तापमानमा दूध उमाल्न सक्छ तर, आगोमा बनाएको स्वाद भने मीठो हुन्छ।

चिनी राखेर एक घण्टासम्म चलाउँदै दूधलाई बाक्लो पारिन्छ । केही छिनपछि कटाराको भाँडा पखाल्नुपर्ने कर्माचायले  बताउँछन् । नेवारी भाषामा ‘कल’ भनिने यो माटोको भाँडा ‘जुजु धौ’ बनाउनका लागि अतिआवश्यक हुन्छ । कटाराले पानी सोस्ने भएका कारण पनि माटाका भाँडा खास छन् । जबकि त्यही स्वाद प्लाष्टिकमा दिनका लागि दूधलाई बढी उमाल्नुपर्ने हुन्छ । 

कटारा पखालेपछि बिछ्याइएको भुसमा खाल्डो खनेर त्यसमाथि कटारा ओछ्याइन्छ।

‘जुजु धौ’लाई कसैकसैले भुसमा जमाइएको दही भनेर पनि चिन्छन् । 

कटारामा उमालिएको दूध १ भागको ३ भागजति खनाइन्छ र सेलाउन हालिन्छ।सेलाइसकेपछि त्यसमा दहीको बीउ (कल्चर) राखिन्छ । त्यसपछि कटाराभरि दूध राखिन्छ । कटारालाई कटाराको भाँडाले नै छोपिन्छ । त्यसमाथि सिरक राखेर ढाकिन्छ । यसरी बाँकी कपडाले छोप्दा भुस र कपडाको रापले दही बन्न चाहिने तापमान पाउँछ र मीठो बन्छ । यसको तीन घण्टामा ‘जुजु धौ’ तयार हुन्छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।