काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसाको बिगो मागदावी गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा उक्त दफाबमोजिम उक्त ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल गरि पाउन मागदावी गरेको आयोगले जनाएको छ।
आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर र समितिका कार्यकारी निर्देशकसमेत १५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
Comment