प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको प्रश्न- आर्थिक स्थिति गम्भीर छ, सरकारको योजना के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व सङ्कलनको सन्दर्भमा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभा आइतबार प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा थापाले मुलुकको अर्थतन्त्र, बजेट खर्च र राजस्व सङ्कलनको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ मागेका हुन् । आर्थिक वर्षको पहिलो ७ महिना मुलुकको आर्थिक अवस्था प्रशंसनीय नरहेको भन्दै उनले सरकारको खर्च र राजस्व सङ्कलनको स्थितिमाथि गम्भीर ध्यानाकर्षण गराए ।

‘आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत लक्षित राजस्वको ४० प्रतिशत उठ्न सकेको छैन। खर्च पनि ३५ प्रतिशत कट्न सकेको छैन। यस्तो अवस्थामा ४–५ महिनामा बाँकी राजस्व उठ्ने र तोकिएको खर्च हुने त्यस्तो के आधार छ?’

प्रधानमन्त्रीलाई थप प्रश्न गर्दै सांसद थापाले भने, ‘बाँकी समयमा तोकिएको खर्च र राजस्व उठ्ने गरी प्रभावकारी काम गर्ने त्यस्तो खास योजना सरकारले के ल्याउँदै छ? यदि छ भने के छ? छैन भने किन छैन?’

यसअघि पनि दुई–दुई पटक सरकारको नेतृत्व गरिसकेको अनुभव भएकाले प्रधानमन्त्रीलाई यो वा त्यो निहुँ गरेर भाग्ने छुट नभएको बताउँदै उनले भने, ‘रेमिट्यान्स बढ्ने बाहेक अन्य आय स्रोत बढेको छैन । र पनि सरकार भनिरहेको रेमिट्यान्स बढ्यो । खास रेमिट्यान्स बढ्नुमा के कारण छ ? जुन सरकारले बारम्बार भनिरहेको छ ।’

अर्थतन्त्रको सुधारका लागि सरकारले खास काम गर्न नसकेको आरोप लगाउँदै सांसद थापाले अर्थ मन्त्रालय र अर्थमन्त्रीले गरिरहेका कामबारे चासो दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘कि त अर्थ मन्त्रालय प्रधानमन्त्रीको कार्य क्षेत्रभित्र पर्दैन भन्नुपर्‍यो, होइन भने के भइरहेको छ, मन्त्रालयले अर्थतन्त्र सुधारमा के कस्तो गतिविधि काम गरिरहेको छ, प्रधानमन्त्रीले बुझ्नुपर्‍यो । के अर्थतन्त्रको जिम्मेवार अर्थमन्त्री नै हो भनेर प्रधानमन्त्रीज्यूले फ्री छाड्नु भएको हो ?’ उनले प्रश्न गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।