काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताएका छन्।
शनिबार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता नेपालजस्तो मुलुकमा जरुरी थिएन भन्ने कुराहरु धेरै चर्चामा आइरहेको बताए।
उनले संघीयता खर्चको बोझ मात्रै भएको र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने विरोध र टिप्पणी हुने गरेको उल्लेख गरे। संघीयतालाई सही रुपबाट प्रयोग गर्नसके यसले ठूला काम गर्नसक्ने उनको भनाइ थियो।
उनले भने, ‘खासगरी संघीयता नेपालजस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरु धेरै चर्चामा आइरहेको छ। खर्चको बोझ मात्रै भएको छ र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने विरोध र टिप्पणी सँगसँगै संविधानमाथि टिप्पणी हुने गरेको छ। वास्तवमा संघीयतालाई प्रयोग गर्ने हो भनेदेखि यसले ठूलाठूला कामहरु गर्नसक्छ।’

Comment