ललितपुर । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वासनीयता धेरै ठूलो हुन्छ भन्ने वताएका छन ।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नं। ३ को प्रदेश ख क्षेत्रीय कार्यसमितिद्वारा आज जिल्ला कार्यालयमा आयोजित संगठन सुद्धिकरणका लागि परिकल्पना बिषयक प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै सिंहले राजनीतिमा खोला तरेपछि लौरो फाल्ने प्रबृत्ति हुनुहुँदैन भन्दै राजनीतिक परिस्थितिले गठबन्धन जन्माएको बताए ।
हामीले भएको घटनाक्रमलाई चाँडै विर्सिनु हुँदैन, राजनीतिमा खोला तरेपछि लौरो फाल्ने प्रबृत्ति हुनुहुँदैन। विश्वासनीयता धेरै ठूलो हुन्छ। हामीले विगतका तथ्यलाई पनि विर्सिनु हुँदैन संविधानसभाबाट संविधान जारी भएपछिको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु सरकारमा गए, तीन तहको सरकारलाई बलियो वनाउनु पर्नेमा उनीहरु संसद भंग गर्ने तिर लागे, नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई जोगाउन र देशलाई संकटबाट जोगाउनका लागि बाध्यता र परिस्थिति अनुसार गठबन्धन भएको हो। नेता सिंहले भने ।
उनले २० करोड सम्मका परियोजनामा सिधै भारतीय लगानी आउन सक्ने कुरामा नेकपा एमालेले गरेको विरोधतीर टिप्पणी गर्दै उनले एमाले आफू सत्तामा हुँदा जे गरेपनि ठीक भन्छ बाहिर आएपछि त्यही कुरा गलत भन्छ भन्ने धारणा।
अहिले एमालेले बीस करोडसम्म भारतीय लगानी सिधै परियोजनामा गर्न सक्ने भन्ने कुराको बिरोध गरेको छ, पहिला यस्तो व्यवस्था अनुसार पाँच करोडसम्म लगानी हुन्थ्यो, एमाले सत्तामा हुँदा जे गरेपनि ठीक भन्छ बाहिर आएपछि त्यही कुरा गलत भन्छ । यसको विरोधमा कुनै तुक छैन, लगानी गर्ने कुरा पनि मन्त्रालय मार्फत नियमन हुन्छ, यसमा चिन्ता लिनुपर्ने कुनै कुरा छैन नेता सिंहले भने।
उनले पार्टीलाई राम्रो बनाउन सबै पालिका र वडा तहले पनि प्रशिक्षण राख्नुपर्ने बताउँदै प्रशिक्षणमा पार्टीको विधानका साथसाथै संविधानमा भएका कुराहरुलाई पनि समावेश गरिनुपर्ने वताए ।
उनले पार्टीमा धेरै सुधार गर्नु पर्छ भन्दै पुरानो शैली, गृहकार्य विना परिवर्तन सम्भव नभएकोले नेता तथा कार्यकर्ताहरु पनि परिवर्तित हुनुपर्छ र समयको महत्त्वलाई बुझेर व्यवस्थापन गर्न सिक्नुपर्छ भन्नेमा जोड दिए । नागरिकका विभिन्न समस्या, विकास निर्माणका सन्दर्भ तथा सुधार गर्नुपर्ने विषयमा पार्टीभित्र छलफल हुनुपर्छ भन्नेमा उनको जोड थियो ।
जनप्रतिनिधि र पार्टीको नेतृत्वबीच हुनुपर्ने न्युनतम समन्वय र सम्पर्क हुनुपर्नेमा जोड दिनुहुँदै नेता सिहले पार्टीको टिकट लिएर जित्ने, त्यसपछि पार्टीलाई विर्सने हुनुहुँदैन भन्नेमा ध्यानाकर्षण गराए।
बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले अनुशासित भएर प्रशिक्षणमा सहभागी हुन कार्यकर्तालाई निर्देश गदै प्रशिक्षणबाट संगठन बलियो,बनाउन टोल समितिसम्म कार्यकर्ताहरु सक्षम हुनेछन् भन्ने विश्वास व्यक्त गरे । उनले इतिहास नपढी हामी आगाडी बढ्न सक्दैनौँ भन्नुहुँदै कार्यकर्ताहरुले देशको संविधान र पार्टीको विधान राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिए ।
ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले प्रशिक्षणले आगामी दिनमा सफल नेतृत्व स्थापित गर्ने वताउँदै असनग्रहण र भाषणका लागि मात्रै पार्टीमा उपस्थित हुनेभन्दा पनि संगठन बलियो बनाउने गरी लाग्नुपर्नेमा जोड दिए । उनले संगठन विना सुदृढीकरणको परिकल्पना गर्न सकिदैन भन्नुहुँदै सबै जना मिलेर पार्टी बनाउन लाग्नुपर्छ र सबै जना मिलेर काम गर्नुपर्नेमा जोड जोड दिए ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश सदस्य प्रविणा शर्मा, राजिवराज पौडेल, प्रतिनिधिसभा क्षेत्र नं। ३ का सभापति महेश्वर थापा, ललितपुर महानगर सभापति शुभानन्द धाख्वालगायतले शुभकामना मन्तव्य राखेका थिए।

Comment