काभ्रेपलाञ्चोक । भंसार छलेर ल्याएको ३३ बोरा चिनी बुधबार प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको हो ।
बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बिपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको छ ।
प्रहरीले कात्तिक पहिलो हप्ता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छलि आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बिपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।
Comment