प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित प्रदेशस्तरीय गुरुकुल विद्यालय भवन बनाउन शनिबारदेखि महायज्ञ सुरु गरिएको छ । ‘शचीतिर्थ त्रिवेणी गुरुकुल’ नामकरण गरिएको उक्त विद्यालयको भवन हाल निर्माण थालिएको छ ।

पनौती नगरपालिका-६ गोरखनाथ मन्दिर नजिक निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवन बनाउन महायज्ञ आयोजना गरिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिउ ।

उनका अनुसार भवन निर्माण गर्न एक करोड सात लाखको अनुमान गरिएको छ । महायज्ञ पनौती-७ स्थित लायकु डबलीमा शनिबारदेखि एक हप्तासम्म सो महायज्ञ सञ्चालन गरिने छ ।

महायज्ञमा युवा पण्डित भट्टराईले नै कथा वाचन गर्ने कार्यक्रम छ । महायज्ञअन्तर्गत शनिबार पनौती बजारमा कलशयात्राको आयोजना गरिएको छ ।

महायज्ञबाट संकलित सम्पूर्ण रकम भवन निर्माणका लागि नै खर्चिने जनाइएको छ । यस्तै भवन निर्माणका लागि देश-विदेशमा रहने नागरिकले व्यक्तिगतरूपमा सहयोग गर्न थालेका छन् ।

गुरुकुल शिक्षाप्रति चासो राखेका स्थानीयले पनौतीमा दुई वर्षअघि बाग्मती प्रदेशस्तरको गुरुकुल स्कुल संस्थागत गरेका थिए ।

हाल पनौतीस्थित त्रिवेणीघाट सत्तलमा बटुक अध्ययन गरिरहेका छन् । बटुकलाई गुरुकुलमा संस्थागत गरी प्रदेशस्तरको स्कुल स्थापना गरिएको भट्टराईले बताए ।

उनका अनुसार आउँदो शैक्षिकसत्रदेखि बटुक संख्यासँगै कक्षा थप्दै जाने योजना बनाइएको छ । गुरुकुलमा अध्ययनरत बटुकलाई कर्मकाण्ड र धर्ममात्रै नभई आधुनिक शिक्षाको ज्ञान-सीप प्रदान गरिने जनाइएको छ ।

यस्तै उक्त गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी शिक्षालाई व्यवस्थित गर्न सोहीअनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताए ।

उनले भने, ‘पछिल्लो समय गुरुकुल शिक्षाप्रति आकर्षण बढ्न थालेकाले स्थानीयको पहलमै पनौतीमा प्रदेशस्तरको गुरुकुल स्थापना गरेका हौँ ।’

गुरुकुल स्कुललाई सोही शिक्षाअनुसार उत्तरमध्यमा (प्रवीणता प्रमाणपत्र तह), शास्त्री (स्नातक तह), आचार्य (स्नातकोत्तर तह) र पिएचडीसम्मको शिक्षण गरिने योजना बनाएको स्थानीय भागवत धर्म संरक्षण समितिले जनाएको छ ।

स्कुलको सम्पूर्ण व्यवस्थापन स्थानीयको सहयोगमा गरिएको समितिका अध्यक्षसमेत रहेका भट्टराईले बताए । ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल पनौतीलाई सनातन वैदिक धर्म र हिन्दू संस्कारलाई जगेर्ना गरी पुण्य भूमिका रूपमा नगरलाई पहिचान दिलाउने उद्देश्यले गुरुकुल स्थापना गरिएको स्थानीय व्यवसायी प्रदीप बोगटीले बताए ।

उनले भने, ‘स्थानीयको सहयोगमा गरुकुल स्थापना गरेका छौँ, स्कुललाई सहयोग गर्न सरोकारवाला निकायसँग माग गरिरहेका छौँ ।’

समितिका अनुसार गुरुकुल स्कुल प्रवर्द्धनार्थ स्थानीय तथा प्रदेशस्तरका जनप्रतिनिधिको साथ-सहयोग लिइने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।